सम्झना तिम्रो नहुँदो हो त

सम्झना तिम्रो नहुँदो हो त, यो मन खाली खाली हुन्थ्यो।
यी आँखा रुँदा उर्लेर आउने, खहरे पनि त्रिशुली हुन्थ्यो।
एक अर्काको भर नभाको भए त, न राधिका हुन्थिन, न कृष्ण हुन्थ्यो।

बतासे चौतारी, देउराली उकाली, आँखै अगाडी भएनी हुन्थ्यो।
धाराको पानी, भुटेको मकै, मुलाको सागसंग कति मिठो हुन्थ्यो।
बिहानी पख मन्दीर धाउँदा, बिहेमा जन्ती गए झैँ हुन्थ्यो।
साथी संगी सँग जे खाएपनि, बिहेकै भतेर खाए झैँ हुन्थ्यो।

लेक र बेशी गर्दा है हामी, दिन पनि हुन्थ्यो, रात पनि हुन्थ्यो।
छुट्टिनु पर्दा तिम्रा ति आँखा, दरौंदी जस्तै सलल बग्थ्यो।
तैपनि भोली भेटिने आशमा, दुबैको मन धपक्कै बल्थ्यो।
एक अर्काको भर नभाको भए त, यो हाम्रो जीवन अभिशाप हुन्थ्यो।

यी आँखा रुँदा उर्लेर आउने, खहरे पनि गण्डकी हुन्थ्यो।
सम्झना तिम्रो नहुँदो हो त, जिन्दगी रित्तो रित्तो हुन्थ्यो।
न हामी हुन्थ्यौ, न हाम्रो यो संसारै हुन्थ्यो।
एक अर्काको भर नभाको भए त, न राधिका हुन्थिन, न कृष्ण हुन्थ्यो।

Post a Comment

0 Comments